वीरगञ्ज । वीरगञ्जको रजतजयन्ति चोकदेखि मितेरी पुलसम्मको सडक खण्डमा अधुरो रहेको सडकको स्तरोन्नति र कालोपत्रेको काम तीव्र गतिमा भइरहेको छ ।
रजतजयन्ति चोकदेखि मितेरी पुलसम्मको सडक यसअघि नै कालोपत्रे भइसकेकोमा त्यसकै बिचमा पर्ने रजतजयन्ति चोकदेखि भन्सार तर्फको ३ सय ५ मिटर सडक भने अधुरै छाडिएको थियो । खानेपानी संस्थानको भूमिगत पाइप, विद्युत् र टेलिकमको पोल नहटाइएका कारण ३ सय ५ मिटर सडकको काम अधुरै रहेको थियो ।
अहिले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलमा सडक विभागले अधुरो रहेको ३ सय ५ मिटर सडकको स्तरोन्नति गरी कालोपत्रेको काम गरिरहेको हो । ३ सय ५ मिटर लम्बाई र १४ मिटर चौडाइको उक्त सडकको स्तरोन्नति र कालोपत्रे कार्यका लागि १ करोड ७९ लाख रुपैयाँमा विकास जेभीले ठेक्का सकारेको छ । सडक विभाग र ठेकेदार कम्पनीबिचको सम्झौतामा उक्त सडकको काम ६ महिनाभित्र सम्पन्न गरिसक्नु पर्ने उल्लेख छ ।
यसैबिच सोमबार बिहान वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले रजतजयन्ति चोकमा पुगेर निर्माणाधीन सडकको स्थलगत निरीक्षण गरेका छन् । महानगरपालिकाका प्राविधिक टोलीसहित पुगेका उनले सडकको काममा गुणस्तरको सवालमा कुनै सम्झौता नगर्न र समयमै काम सक्न ठेकेदार ध्रुव पटेललाई निर्देशन पनि दिए ।
स्थलगत निरीक्षणमा मेयर सिंहसँगै पुगेका इन्जिनियर प्रकाश अमात्यका अनुसार, सडक क्षेत्रमा रहेका खानेपानी र टेलिकमको पाइप हटाएर व्यवस्थापन गर्ने काम सकिसकेको छ । यस्तै विद्युत्को पोल पनि सडक क्षेत्रबाहिर राख्ने काम पनि पूरा भइसकेको अमात्यले बताए ।