पूर्वमा बारा जिल्ला, उत्तरमा पर्सा वन्यजन्तु आरक्ष, पश्चिममा पर्सागढी नगरपालिका, बहुदरमाई नगरपालिका र विन्ध्यवासिनी गाउँपालिका अनि दक्षिणमा भारत पर्ने वीरगन्ज महानगरपालिकाले १३२ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ । यहाँ ३२ वटा वडा छन् । मधेश प्रदेशकै एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिका मुलुककै मुख्य प्रवेशद्वारका रूपमा पनि चिनिन्छ । जनता समाजवादी पार्टीबाट गठबन्धनका साझा उम्मेदवार बनेर निर्वाचित हुनुभएका नगर प्रमुख राजेशमान सिंहले वीरगन्जलाई सफासुग्घर अनि व्यवस्थित पार्दै वैभव वीरगन्ज निर्माणमा लागिपरेको बताउनुहुन्छ । प्रस्तुत छ, नगर प्रमुख सिंहसँग दीपकप्रसाद गौतमले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :
अहिलेसम्मको आफ्नो कार्यकालको आफैँले कसरी समीक्षा गर्नुहुन्छ ?
अहिले मैले केही चिजको सुरुवात गरेको छु । त्यसलाई लक्ष्यसम्म पु-याउने चुनौती रहेको छ । मेरो कार्यकाल, मैले गरेको काम के कस्तो भनेर वीरगन्जवासीले नै बताउँछन् ।
सबैभन्दा ठुलो चुनौती नै बजेट व्यवस्थापन रहेको छ । महानगरवासीको चाहना ठुलो छ । बजेट सीमित छ । आन्तरिक स्रोतलाई कसरी वृद्धि गर्ने भनेर चाँडै नै कडाइका साथ हामी एक्सनमा जाँदै छौँ ।
महानगरको विकासका लागि सम्भावना केमा देख्नुभएको छ ?
वीरगन्ज भनेको सम्भावना नै सम्भावनाको सहर हो । तीन/चार वटा ठुला परियोजना पनि गर्ने बजेट व्यवस्थापन गरेर हामीले सुरुवात गर्नेवाला छौँ । वीरगन्जलाई ‘वैभव वीरगन्ज’ को नारा दिएर धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न लागिरहेका छौँ ।
महानगरका समस्या, बाधा, चुनौतीका रूपमा के के छन् ? त्यसलाई समाधान गर्ने प्रयास के गर्नुभयो ?
चुनौतीलाई स्वीकार गरेर नै हामी नेतृत्वदायी भूमिकामा रहेका छौँ । हरेक कुरामा चुनौती रहेका छन्, त्यसलाई चिर्दै हामी अगाडि बढिरहेका छौँ । आइपरेका समस्या पनि एक÷एक गरी समाधान पनि गर्दै छौँ ।
गठबन्धनबाट जनप्रतिनिधि निर्वाचित हुनुभएको थियो । काम गर्न कत्तिको सहज छ ?
सम्पूर्ण राजनीतिक दलसँग समन्वय नै गरेर हामी अगाडि बढिरहेका छौँ । गठबन्धनका केही व्यक्ति व्यक्तिगत इगोका कारण केही विरोधका काम गरे पनि विकासका काममा कुनै बाधा अड्चन आएको छैन । समग्रमा भन्नुपर्दा सम्पूर्ण राजनीतिक दलको सहयोगमा नै अगाडि बढिरहेको छु ।
प्रदेश र सङ्घीय संरचनासँग समन्वय कस्तो भइरहेको छ ?
यसमा चाहिँ धेरै कमी छ । कानुनको अभावमा धेरै कुरा गर्न नसकिरहेको अवस्था छ । कर्मचारी अभाव प्रमुख समस्या रहेको छ । प्रदेशमा कानुन बनेको छैन । प्रदेश र सङ्घमा बारम्बार भने पनि आश्वासनबाहेक अरू केही पाउन सकेका छैनौँ । समन्वय गरे पनि स्थानीय निकाय सञ्चालनमा निकै अप्ठ्यारोको अवस्था रहेको छ ।
महानगरलाई समृद्ध बनाउन के के गर्दै हुनुहुन्छ ?
अहिले म नेतृत्वमा आएको २१ महिना भएको छ । ‘वैभव वीरगन्ज’ बनाउन गरिएको सुरुवात ठिक छ कि छैन, आमवीरगन्जवासीले विचार गर्नु पर्दछ ।
महानगरमा शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ ?
महानगरको शिक्षा र स्वास्थ्यको अवस्था भन्नुपर्दा सबै डामाडोल छ । सुधारका लागि सुरुवात गरिसकेका छौँ । रिजल्ट आउने वर्षसम्ममा देखिन्छ । सबैले महसुस गर्न पाउनुहुने छ । चार वटा सरकारी विद्यालयलाई अङ्ग्रेजी माध्ययमा पढाउने गरी सञ्चालनमा ल्याइसकेका छौँ । आगामी दिनमा त्यसलाई बढाएर लैजान्छौँ ।
सडक, विद्युत्लगायत महानगरभित्र पूर्वाधारको अवस्था कस्तो छ ? पूर्वाधार विकासमा महत्त्वपूर्ण योजना के के छन् ?
१६ वटा गाविसलाई वीरगन्ज महानगरका वडाका रूपमा थपिएको छ । त्यहाँ कुनै पूर्वाधार नै छैनन् । अत्यावश्यक भौतिक पूर्वाधार निर्माणको कार्य सुरुवात गरिसकेका छाँै । उज्यालो वीरगन्ज योजना अन्तर्गत १ देखि ३२ वडासम्म बिजुलीबत्तीको व्यवस्थापन गरिसकेका छौँ । ठुला ठुला भौतिक पूर्वाधार, तीन/चार वटा निर्माणको कार्य यसै आर्थिक वर्षमा सुरुवात गर्ने तयारीमा छौँ ।
सुशासन र पारदर्शितामा महानगर कस्तो छ ?
कर्मचारी अभावमा नगरवासीले सुशासनको पाउनुपर्ने जति अनुभूति पाएका छैनन् । नगरपालिकाले दिनुपर्ने सेवासुविधा दिइरहेका छौँ । सकभर महानगरका हरेक गतिविधि पारदर्शी बनाउने प्रयास गर्दै आइरहेका छौँ ।
कृषि र पर्यटनको विकासमा कसरी काम गर्दै हुनुहुन्छ ?
कृषि र पर्यटनको विकासमा पनि अगाडि बढेका छौँ । खास गरी चुनौती नै चुनौती रहेको छ । महिला दिदीबहिनी तथा युवालाई कृषिमा आत्मनिर्भर बनाउन केही कार्यव्रmम सुरुवात गरेका छौँ । परिणाम आइसकेको अवस्था छैन । पर्यटनका विषयमा हामीले वीरगन्जलाई धार्मिक पर्यटकीय ‘हब’ का रूपमा विकास गर्न लागिरहेका छौँ । पुराना मठमन्दिरको जीर्णोद्धार गरी सौन्दर्यीकरण गरेका छौँ । २९ बिघा क्षेत्रफलमा ठुलो सुविधासम्पन्न एउटा पोखरी निर्माण गर्न गइरहेका छौँ ।
महानगरका आगामी रणनीति के के छन् ?
वीरगन्जलाई शिक्षा, स्वास्थ्य, विकास, निर्माणका क्षेत्रमा व्यवस्थित गर्दै ‘वैभव वीरगन्ज’ बनाउने एउटै रणनीति रहेको छ । वीरगन्जवासीको जीवनयापन स्वस्थ, शिक्षित, व्यवस्थित र सम्पन्न बनाउनु नै हाम्रो मुख्य लक्ष्य हो । साभार : गोरखापत्रबाट