एसएलसीको इतिहास
नेपालमा राणा शासनकै बेला विसं १९९० कात्तिक १६ गते नेपालमा एस.एल.सी बोर्डको स्थापना भएको थियो । स्थापना भएको पहिलो बर्षमै एस.एल.सी परिक्षा दिनका लागि ३४ जना विद्यार्थीले फारम भरेका थिए ।
१९९० सालको पुस अन्तिम सातादेखि सुरु भएको एस.एल.सी परीक्षा माघ २ गते आएको महाभूकम्पका कारणबीचैमा स्थगित भयो । र, विसं १९९१ सालको जेठ महिनामा पुनः परीक्षा संचालन गरियो ।
पहिलो पटक एसएलसी परीक्षा दिएका ३३ जनामाध्ये १६ जना मात्र उत्तीर्ण भएका थिए । जसमा १० जना द्वितीय र ६ जना तृतीय श्रेणीमा उत्तीर्ण भए । द्वितीय श्रेणीमा उत्तीर्ण भएका १० जनामध्ये भक्तपुरका पुष्पभक्त मल्लले सर्वाधिक अङ्क प्राप्त गरेका थिए । उनलाई नै सर्वप्रथम एसएलसीमा बोर्डफस्ट हुने व्यक्तिको रुपमा पनि चिनिन्छ । उनी पछि नेपालकै पहिलो कृषि इन्जिनियरसमेत बने ।
एस.एल.सी बारे अन्य रोचक तथ्यहरु पनि छन् :
चन्द्र शमशेर जबरालाई एस.एल.सी पास गर्ने पहिलो व्यक्तिको रुपमा लिइन्छ भने वि.सं २००३ सालदेखि मात्र एस.एल.सीको पूरक परीक्षा दिने व्यवस्था मिलाइएको थियो ।
हरेक वर्ष एस.एल.सीमा सर्वोत्कृष्ट हुनेको नाम घोषणा गरिन्थ्यो तर, विभिन्न काराणले गर्दा वि.सं २०६२ देखि यसलाई बन्द गरियो । वि सं २०७५ सालबाट एसएलसीमा ग्रेडीङ सिस्टमबाट नतिजा सार्वजनिक हुन थाल्यो र एसएलसीको नाम परिवर्तन गरेर एसईई राखियो ।
त्यस्तै २०२६ सालमा अमरज्योति जनता हाइस्कूल गोरखाबाट बोर्डफस्ट भएका बाबुराम भट्टराई देशको प्रधानमन्त्रीसम्म बने ।
प्रवेशिका परिक्षा अर्थात् एसएलसीमा पहिलो पटक २००४ सालमा महिलाको सहभागीता रहेको थियो । त्यो पनी एकै पटक ४ जनाको । परिक्षार्थीहरु थिए साहना प्रधान, साधना प्रधान, अंगुरबाबा जोशी र भुवनसिंह ।
जसमध्ये साहना प्रधान कयौंपटक दशको मन्त्री बन्न सफल भईन् । उनी नेपाल कम्युनीष्ट पार्टीका संस्थापक पुष्पलाल क्षेष्ठकी श्रीमतीसमेत हुन् । त्यस्तै अंगुरबाबा जोशीले पद्कन्या क्याम्पसको बागडोर सम्हालेसँगै उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख बनीन् ।
१९९० सालको एसएललसी परीक्षामा एक जना छात्राले फारम भरेकी थिइन् तर, उनी परीक्षामा भने सहभागी भइनन् । एसएलसी शुरु भएको करिब ४९ वर्षपछि २०३९ सालमा लुना भट्ट पहिलो महिला बोर्डफस्ट बनेर इतिहास बनाइन् ।
नेपालमा एसएसी सुरु भएदेखि नै हरेक वर्ष बोर्डफस्ट हुनेको नाम सार्वजनीक गर्ने गरिएको थियो । यो व्यवस्था विसं २०६१ सालसम्म रह्यो । पुष्पभक्त मल्ल एसएलसीको पहिलो बोर्डफस्ट हुन् भने काभ्रे माविका समिर श्रेष्ठ अन्तिम बोर्डफस्ट हुन् ।
एसएलसीदेखि एसईईसम्म
१९९० सालमा नेपालमा एसएलसी परीक्षा वोर्डको स्थापना हुनुभन्दा अघि नेपाली विद्यार्थीहरु प्रवेशिका परीक्षा दिन भारतको कोलकत्ता जाने गरेका थिए ।
विसं १९३६ सालदेखि कोलकत्तामा प्रवेशिका परीक्षा अर्थात् म्याट्रिक दिने व्यवस्था मिलाएका राणा शासकहरुले विसं १९८० देखि नेपाललाई नजीक पर्ने गरी पाटनबाटै म्याट्रिक दिने व्यवस्था मिलाइएको थियो ।
२०७३ सालमा सरकारले संसोधन गर्दै १ देखि ८ सम्म आधारभुत र ९ देखि १२ सम्म विद्यालय शिक्षाका रुपमा निर्धारण गरेपछि २ वर्षदेखि एसईईका रुपमा परीक्षा लिन थालिएको हो ।
८३ वर्षसम्म रहेको एसएलसीको इतिहास वि.सं २०७३ सालमा आएर रोकियो । २०७३ पछि विद्यालयको तहगत संरचनालाई परिवर्तन गर्दै सरकारकले एसएलसीलाई एसईईमा रुपान्तरण गर्यो ।२०७
३ को निर्णयलाई कार्यान्वयन गर्दै नतिजालाई ग्रेडिङ प्रणालीमा रुपान्तरण गर्ने उद्देश्यका साथ विसं २०७५ सालदेखि एसईई परीक्षा प्रणाली सुरु भयो ।
८१ वर्षको एसएसलसी इतिहासमा ८५ जना बोर्डफस्ट भएका थिए । वि सं २००७ सालको राजनीतिक परिवर्तनका कारण दुई पटक प्रवेशिका परीक्षा भयो र त्यसपटक अलग अलग रूपमा बोर्डफस्ट घोषणा गरिएको थियो । त्यस्तै २०२८ देखि नेपालमा नयाँ शिक्षा लागु गरिएपछि २०३२ देखि २०३४ सम्म नयाँ र पुरानो शिक्षा प्रणलीको छुट्टाछुट्टै रुपमा प्रवेशिका परीक्षा सञ्चालन गरिएको थियो ।
जसअन्तर्गत २०३४ को प्रवेशिका परीक्षामा चारजना विद्यार्थीलाई बोर्डफस्ट घोषणा गरियो । जसमा पुरानो शिक्षा पद्धतिबाट एक जना तथा नयाँ शिक्षा पद्धतिबाट तीन जना बोर्डफस्ट भएका हुन् ।
सबैभन्दा धेरै बोर्डफस्ट जन्माउनेमा काठमाडौंको दरबार हाइस्कुल रहेको छ । यहाँबाट सत्र जना बार्डफस्ट भए । त्यस्तै सिद्धार्थ वनस्थली इन्स्टिच्युट काठमाडौंबाट नौ जना, जुद्धोदय पब्लिक हाइस्कुल काठमाडौंबाट छ जना, त्रिभुवन पब्लिक हाइस्कुल वीरगन्ज, आनन्दकुटी विद्यापीठ काठमाडौं र लेबोरेटोरी माध्यमिक विद्यालय काठमाडौं बाट पाँच–पाँच जना बोर्डफस्ट भए ।
३४ जना परिक्षार्थीबाट सुरु भएको एसएलसीमा आज लाखौंको सहभागीता रहने गर्छ । नाम, व्यवस्था, पद्धती परिमार्जीत हुँदै फरक ढाँचामा यस परीक्षा प्रणाली गुज्रीए पनि नेपालको शिक्षा प्रणाली र विद्यार्थीहरुमा यसको महत्व आज पनि उत्तिकै छ । भलै आज फलामे गेट स्वर्ण द्वारको रुपमा परिणत भएको छ ।