कस्तो रह्यो त २०८० सालको नेपाली साहित्य क्षेत्र ?
समीक्षक राजकुमार बानियाँको सीधा उत्तर छ, ‘प्रकाशकहरू मान्छेले किताब पढ्दैनन् भन्छन्, पाठक छैन भन्छन् । लेखकहरूले लेखेको लेख्यै गरेको देख्छु । प्रकाशकले छापेको छाप्यै देख्छु । पालिकापिच्छे महोत्सव हुन्छ । त्यो हेर्दा साहित्यको बजार त गुलजार नै देख्छु म ।’
किताबको गुणवत्ताको कुरा गर्ने हो भने चाहिँ त्यो मुस्किल मुस्किल नै रहेको बानियाँको विश्लेषण छ । बानियाँ हाकाहाकी भन्छन्, ‘लेखकहरू मिहेनत नगर्ने, किताबको संख्या मात्रै थप्ने होडबाजीमा छन् । लोकप्रिय हुने लोभ मात्रै लेखकहरूमा देखिएको छ । लेखिएका सबै कुरा साहित्य हुँदैन, तिनले अमर बनाउँदैन भन्ने हेक्का लेखकहरूमा देखिएन ।’
कवि श्रवण मुकारुङ पनि बानियाँसँग सहमत छन् । उनको पनि विश्लेषण छ, ‘गुणात्मक भन्दा पनि यस वर्ष संख्यात्मक हिसाबले किताबहरू धेरै आए । किताब आएको आयै छन्, गतिलो चाहीँ आएका छैनन् ।’
हामीले २०८० सालको साहित्यबारे प्रकाशक, लेखक, पाठक, वितरकहरूसँग पनि बुझ्यौं । यसक्रममा २०८० साल साहित्यका लागि औसत नै रहेको प्रतिक्रिया प्राप्त भयो । प्रकाशित सबै किताब चलेनन् । तर, केही किताबले भने राम्रै व्यापार गरेको समेत देखियो ।
कस्ता किताबहरू बढी बिक्री भए ?
बिक्रीका हिसाबले यस वर्ष आख्यानभन्दा गैरआख्यानको दबदबा रहेको किताब व्यापारीहरू बताउँछन् । जागरण बुक्स हाउसका संचालक गणेश चितौरेको पसलबाट पनि यस वर्ष २०७९ मा आहुतीद्वारा लिखित गैरआख्यान ‘जातवार्ता’, ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’, डिपी ढकालद्धारा लिखित ‘समाजवाद र नेपाल’, घनश्याम पौडेलद्धारा लिखित ‘धर्म, समाज र संस्कृति’ बढी बिक्री भए ।
तर, आख्यानमा भने जागरण बुक्स हाउसबाट उस्तो संख्यामा किताबहरू गएनन् । बढीमा पाँच-सात प्रति मात्रै बिक्री भएको चितौरेको भनाइ छ । कवितासंग्रहमा भने चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ र नवीन अभिलाषीको ‘मौलामा बाँधिएको राँगो’ अलि राम्रो गए ।
पोखरामा रहेको हिमालयन रिडर्स कर्नरमा भने बिक्रीको हिसाबले राम्रै भएको संचालक विजय भण्डारी बताउँछन् । हिमालयन रिडर्स कर्नरमा पनि गैरआख्यानकै दबदबा रह्यो यस वर्ष । डा. भेषबहादुर थापाको ‘राष्ट्र परराष्ट्र, शंकर तिवारीद्वारा सम्पादित ‘बीपीको जेल डायरी’ जस्ता किताब पाठकको रोजाइमा परे ।
संचालक भण्डारीका अनुसार आख्यानमा विष्णु सापकोटाको ‘अडिएका पाइला’, बुद्धिसागरको संस्मरण कृति ‘उसले दिएको उमेर’ बिक्रीको हिसाबले राम्रो भयो । कविता संग्रहमा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’, नवीन प्राचीनको ‘प्वाँख’ राम्रो बिक्री भए । उनका अनुसार यस वर्ष पाठकले गैरआख्यान सँगसँगै सेलिब्रेटीको आत्मकथाहरू पनि निकै रुचाए ।
सबैतिर बिक्री घटिरहेका वेला चितवनको सम्पूर्ण किताबले भने यस वर्ष राम्रै संख्यामा किताबहरू बेचेको संचालक लेखराम सापकोटा बताउँछन् । विशेष गरेर नयाँ पाठकहरूका कारण बिक्री बढेको सापकोटाको भनाइ छ । उनी भन्छन्, ‘अहिले मैले स्कुललाई टार्गेट गरिरहेको छु । स्कुलहरूले पनि पठनलाई फोकस गरिरहेका छन् । त्यस हिसाबले राम्रै भयो ।’
विद्यार्थीहरूले जीवनी, उत्प्रेरक किताबहरू, आख्यानहरू रुचाएको सापकोटा बताउँछन् । यसका अलवा उनले केही वर्षअघि प्रकाशन भएका अमर न्यौपानेको ‘सेतो धरती’, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’, आनी छोइङ डोल्माको ‘फूलको आँखामा’, आङसान सुची र नेल्सन माण्डेला जीवनीहरू पनि राम्रो संख्यामा बेचे ।
यस वर्ष छापिएका किताबहरूमा मोहन मैनालीको खेजमूलक ऐतिहासिक दस्तावेजको किताब ‘मुकाम रणमैदान’, डा. थापाको ‘राष्ट्र परराष्ट्र’ संख्यात्मक हिसाबले बढी बेचे । भैरव अर्यालको जीवनीमा आधरित प्रोल्लस सिन्धुलीयद्धारा लिखित ‘भग्न भैरव’ र रमेश सायनको उपन्यास ‘अन्तर’ राम्रो संख्यामा बेचे ।
सम्पूर्ण किताबले बढी संख्यामा बेचेको कविता संग्रहहरू हुन्, गुरुङको ‘जब एउटा मान्छे हराउँछ’, भूपिनको ‘भूपीनका कविता’, एलबी क्षत्रीको ‘को हो त्यो मान्छे ?’, गणेश श्रमणको ‘आगो लिएर गाउँगाउँमा’ । सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’, रमेश क्षितिजको ‘पर्वत पर्वतमा बटुवा घाम’ र पुराना क्लासिकल किताबहरू पनि थुप्रो बेचे ।
त्यस्तै सुनवर्षी बुक हाउस इटहरीमा गैरआख्यानमा डा. नवराज केसीको ‘शून्यको मूल्य’, डा. थापाकै ‘राष्ट्र परराष्ट्र, भवानी खतिवडाको नियात्रा कृति ‘आकाश ओढेको डोल्पो’, मोमिलाको निबन्धकृति ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ धेरै बिक्री भएको संचालक गोविन्द गिरी बताउँछन् ।
आख्यानमा गिरीले यस वर्ष भानु बोखिमको ‘रुमानी साँझ’, बुद्धिसागरको ‘उसले दिएको उमेर’, रमेश सायनको ‘अन्तर’, २०७९ को मदन पुरस्कार प्राप्त विवेक ओझाकृत ‘ऐठन’ राम्रै संख्यामा बेचे । कविता संग्रहमा घनश्याम अस्तित्वको ‘हिचानमाथि महल बनाइरहेको मान्छे’, नवीन प्राचीनको ‘प्वाँख’, सुदिप पाख्रिनको रिप्रिन्ट ‘दगुरिहिँड्ने चौबाटो’ निरज भट्टराईको रिप्रिन्ट ‘धुवाँको धागो’ बढी बिक्री गरे । त्यस्तै प्रदीप रोदनको गलज संग्रह ‘मफलर’ र लोकेन्द्र बन्जराको ‘पलक’ पनि राम्रो संख्यामा बिक्री भएको गिरीको दाबी छ ।
किन घटिरहेका छन् आख्यानका पाठकहरू ?
अघिल्ला वर्षहरूमा झैं यस वर्ष पनि किताब प्रकाशनमा कुनै कमी आएको देखिँदैन । बरु झनै धेरै किताबहरू बजारमा आइरहेका छन् । फाइनप्रिन्टले मात्रै २६ वटा किताब प्रकाशन गरेको छ । इंडिगो इंक र शिखा बुक्सको प्रकाशितक किताबको संख्या पनि फाइन प्रिन्टकै हाराहारीमा छ ।
बुकहिलले एक दर्जन किताब बजारमा ल्यायो । बेला पब्लिकेसन्स, फिनिक्स बुक र नेपालयले आधा दर्जन बढी किताबहरू बजारमा ल्याए । अन्य पब्लिकेसनहरूले पनि फाट्टफुट्ट किताबहरू बजारमा ल्याएका छन् । यसैवर्षबाट नयाँ पब्लिकेसन पनि थपिएको छ, माया पब्लिकेसन । यस पब्लिकेसनले युवा साहित्यकार खेम बतासको कथासंग्रह ‘बूढीपोल्ली’को प्रकाशन गरेर यस क्षेत्रमा हात हालेको छ ।
यी मध्ये गैरआख्यानहरू आख्यानको तुलनामा यस वर्ष धेरै बिक्री भए । तर, आख्यानहरू प्रकाशनमा केही कमी आएको छैन । आख्यानको संख्या बढिरहे पनि पाठकको संख्या चाहिँ किन घटिरहेको छ ? जागरण बुक्सका चितौरे अनुमान गर्छन्, ‘आर्थिक मन्दीले पनि होला । अहिले किताब पढ्ने धेरै मान्छेहरू विदेश हिँडे । पछिल्लो चार पाँच वर्षमा किताब पढ्ने पाठकमा कमी आएको छ । सामाजिक संजालले पनि असर गरेको छ ।’
इंडिगोका प्रकाशक विष्णुकुमार पौडेल पनि आर्थिक मन्दीकै कारण बिक्री स्वाट्टै घटेको बताउँछन् । आर्थिक मन्दीकै बीच आफूले प्रकाशन गरेका किताबहरू भने राम्रै गएको शिखा बुक्सका प्रकाशक पुष्पराज बताउँछन् । उनकाअनुसार विश्व कुइँकेलकृत ‘गोपिचा’, ‘बिपीको जेल डायरी’ राम्रै बिक्री भए । तर, अघिल्ला वर्षहरूको तुलनामा भने निराशाजनक नै रहेको बताउँछन् ।
हिमालयन रिडर्स कर्नर, पोखराका विजयका अनुसार यस वर्ष गैरआख्यानकै दबदबा रह्यो । यसको कारण खोतल्छन् विजय, ‘पाठकहरूले चाहेजस्तो आख्यान नआएर पनि होला । साथै पोखरामा फिक्सन कम पढिने भएकाले पनि होला ।’
सुनवर्षी बुक हाउसका गोविन्दले अनुभव गरेको कुरा हो, लकडाउनको समयदेखि धेरैपाठकहरू गैह्रआख्यानतिर लम्किएका छन् । उनी भन्छन्, ‘लकडाउनका वेला घरको र्याकमा थन्किएका प्राय आख्यानका किताबहरू पाठकहरूले पढे । आख्यान लगभग सकिएपछि पाठकहरू गैरआख्यानतिर आकर्षित भएको हुनसक्छ ।’
बेला पब्लिकेसन्सकी बन्दना ढकाल भने हरेक विधाका पाठकहरू निश्चित हुने भएकाले कुनै विधाबीचमा तुलना गर्नु खासै ठीक नभएको बताउँछिन् । उनी भन्छिन्, ‘आख्यान पनि चाहिन्छ, गैह्रआख्यान पनि चाहिन्छ । पाठक घटेको बढेको भन्दा पनि पढ्ने सामाग्रीको उपलब्धता धेरै भएको हो ।’
कमसल किताबका थुप्रोका कारण खुम्चँदै साहित्यको बजार
गएको पाँच वर्षदेखि किताबको बजार एकदमै खस्किएको बुकहिलका प्रकाशक भूपेन्द्र खड्का बताउँछन् । आर्थिक मन्दीले दैन्दिन हातमुख जोर्नै गाह्रो भएको अवस्था छ । बीचमा विदेशबाट आयात गरिएका किताबमा कर लगाइएपछि कोरोना आयो, कोरोनापछि आर्थिक मन्दी आयो ।
यसमा पाठकहरूको रुचिको विषय पनि छ । संसार डिजिटलाइजेसनमा गएको छ । सबै इन्टरनेटको दुनियाँमा व्यस्त छन् । यसले पनि किताब पठनमा असर गरेको भूपेन्द्रको अनुमान छ । अर्कतिर नेपाली भाषाको किताबको व्यापार कमजोर हुनुमा विद्यालय तहमा प्रदान गरिने शिक्षालाई पनि कारक मान्छन् उनी ।
भूपेन्द्र भन्छन्, ‘माध्यामिक तहसम्म दुईवटा विषय छ नेपाली भाषामा । एउटा अनिवार्य नेपाली अर्को चाहिँ गत वर्षबाट सामाजिक शिक्षा नेपालीमा राखिएको छ । हामीले विद्यालय र विद्यार्थीबाटै भाषा गुमाउँदै गइरहेका छौं । छोराछोरीले पनि अंग्रजी पढोस् भन्ने बाआको इच्छा हुन्छ । अर्कातिर बालबालिका लक्षित किताबहरू पनि कमै प्रकाशन भएका छन् ।’
लेखकहरूले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको भूपेन्द्रको विश्लेषण छ । आफू प्रकाशक भएर आउँदाको समय नेपाली साहित्यका लागि ‘गोल्डेन एरा’ भएको र नयाँ लेखकको पनि किताब बिक्ने गरेको बताउँदै भन्छन्, ‘अहिले त जो पनि लेखक भए । खादामाला लगायो, लेखक भयो । बीचमा गुणात्मकतामा ध्यान नै दिएनन् । जसले पनि किताब लेखेर पाठकलाई भुल्याए । यसले राम्रा किताब लेख्ने लेखकहरू पनि मारमा परेका छन् ।’
‘विमोचन गर्न बोलाउँछन्, बोलिदिनैपर्यो । छ महिना, एक वर्षसम्म पछ्याएर समीक्षा लेखिदे भन्छन् । समीक्षा भन्दा पनि सदिक्षा लेखिदेओस् भन्ने चाहन्छन्,’ बानियाँ दुःख सुनाउँदै २०८० बारे बोल्छन् ‘यस वर्ष गर्विलो कृति एकदमै कम छ । गैह्रआख्यानमा केही आशाहरू देखिए । मुकाम रणमैदान, नेपाली संगीत दरबार लगायत केही किताब आशालाग्दो नै लाग्यो । फिक्सनमा कृष्ण गौतमको ‘अद्धैत’ उपन्यास पनि राम्रै लाग्यो ।’
मिडियामा झूर किताबको एकदमै प्रचार हुनु ठूलो समस्या देख्छन् बानियाँ । त्यस्ता झूर किताबहरू अमेरिका पुग्यो, युरोप पुग्यो भनेर सञ्जालमा प्रचार गरिनाले पनि पाठकहरूमा किताबप्रति विकर्षण जागेको बानियाँको तर्क छ ।
बानियाँ भन्छन्, ‘राम्रो लेखकले मिहेनत गरेको हुन्छ । त्यो अनुपातमा आम्दानी हुँदैन । यही कारण लेखकहरू सेलेक्टिभ विषयमा लेख्छन् । तर, यहाँ दुई तीन महिनामै किताब लेख्ने चलन छ । पुरस्कार खाइहाल्ने लोभमा लेख्ने चलन छ । यो अति भयो । हामी किनारमा बसेर हेर्नेहरूलाई एकदमै पीडा हुन्छ । साथै यहाँ आफ्नो लेखनीमा आत्मविस्वास भएका लेखकहरू एकदमै कम छन् ।’