आज बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने यस उपत्यकाकै सबैभन्दा लामो जात्रा असार महिनाको शुक्ल चौथिसम्म करिब २ महिनासम्म मनाइन्छ । सहकालका देवता मछिन्द्रनाथ, जस्लाई मत्स्यनाथ, गुरु करुणामय अनि नेपाल भाषामा बुंगद्यःका रुपमा पनि पुकारा गरिन्छ । विगतको १६०० भन्दा धेरै वर्षदेखि यो प्राचिन जात्रा उत्तिकै उत्साह, भक्ति अनि पवित्रताका साथ मनाइदै आएको छ ।
मत्स्यनाथ को हुन् ?
प्राचिन बुंगमती गाँउ मत्स्यनाथको जन्मथलो मानिन्छ, मत्स्यनाथ एकजना सिद्धपुरुष हुनुहुन्छ जस्ले प्रकृतिका हरेक अवयवहरुमाथि नियन्त्रण गर्न सक्नुहुन्छ । सहकालका यि देवतालाई तसर्थ उपत्यकावासीहरुले वर्षाका देवका रुपमा हजारौंवर्ष देखि पूज्दै आएका छन् । बाग्मती सभ्यतामा मत्स्यनारायणका अनेक रुप छन्, हिन्दुहरु यिनलाई करुणामयी गुरुका रुपमा पूज्दछन् भनें बौद्धमार्गिहरु यिनलाई पञ्चबुद्धमध्य चौंथो स्वरुप पद्धपाणीका रुपमा पूज्दछन् ।
आज के के गरिन्छ ?
आजका दिन म्हेपी डाँडोको माटोले बनेंको करुणामयीको मूर्तिमा कलशमा रहेको देवताको आत्मालाई प्रतिस्थापन गरिन्छ । आज स्नान गराएर पवित्र करुणामयीको धरोहरलाई अक्षयतृतियाका दिन गौदान सहित शान्तीस्वस्ती गरिन्छ।यसपछि ललितपुर र काठमाडौँका बिभिन्न ठाँउहरुमा २ महिनासम्म अवलोकेश्वरको रथलाई परिक्रमा गराइन्छ, अन्तत असार शुक्ल चौथिमा जावलाखेलमा भोटो देखाएर यस रथयात्राको औपचारीक अन्त्य गरिन्छ र प्रतिमालाई लगेर प्राचिन बुंगमती गाँउमा राखिने चलन छ ।
वर्षाको कमी नहोस्, अन्नका दाना दानामा पुष्ट सामथ्र्य रहोस्, विश्वको कल्याण होस्, प्राणिमा प्राण होस् ।