शङ्कराचार्य भगवान् शिवका अवतार हुनुहुन्छ । संक्षेपमा भन्दा पृथ्वीमा जन्म भएका आजका सबैभन्दा सिद्ध पुरुषहरूको सूचीमा जगतगुरु शङ्कराचार्यको नाम अग्रणी स्थानमा आउँछ । उहाँ केरलाको कालाडीमा जन्मनुभएको थियो। र वहाँको गुरुको नाम गोविन्द पद हो ।
करिब १५०० वर्षअघि उहाँको जन्म भएको बेला भारतमा हिन्दु धर्म लोप हुँदै गएको थियो र बौद्ध धर्मले तीव्र गतिमा आकार लिइरहेको थियो । उहाँकै कारणले हिन्दु धर्मले फेरि आफ्नो वैभव प्राप्त गर्यो र जगतगुरु शङ्कराचार्यको मार्गदर्शन अनुरूप नै सनातन दर्शनमा बौद्ध दर्शनलाई पनि समावेश गर्दै एउटा समावेशी दर्शनको सुरुवात भयो ।
वहाँले अद्वैत दर्शनको प्रचार गर्दै भारतीय उपमहाद्वीप भरि यात्रा गर्नुभएको थियो । वहाँका अनुसार सबै कुरा परम वा ब्रह्मको विस्तार थियो। जस्तै, निर्वाणशटकम्मा उहाँ भन्नुहुन्छ
धर्म रक्षा अनि समयसापेक्ष धर्मको वैज्ञानिकीकरणका लागि शङ्कराचार्यको युगान्तकारी देन छ ।भारत वर्षका आधुनिक धर्म संस्थापक शङ्कराचार्यबाट प्रतिपादित अद्वैत दर्शन, सूत्र र सिद्धान्तहरू अझै पनि धर्मशास्त्रहरूमा कालजयी वचन बनेका छन् ।
वहाँकै प्रयत्नबाट वैदिक सनातन हिन्दु धर्मको संरक्षण भई हिन्दु नवचेतनाको रक्तसञ्चार गरिएको थियो । शङ्कराचार्य अद्वैत वेदान्तका संस्थापक हुनुहुन्छ र श्री शङ्कराचार्यले नेपालसहित सम्पूर्ण हिमवत्खण्डमा महत्त्वपूर्ण भ्रमण गरेको पौराणिक प्रमाणहरू छन् ।
भारत केरलाको कलाडीमा जन्मिएका शङ्कराचार्य केवल ३२ वर्षसम्म मात्र बाँचेको पाइन्छ । यसबिचमा हजारौँ वर्षमा गर्न नभ्याइने कार्य शङ्कराचार्यबाट भएको पाइन्छ । शङ्कराचार्यले केवल ८ वर्षको उमेरमा गुरुको खोजीमा हजारौँ किलोमिटर पर नर्मदा खोलाको किनारसम्म यात्रा गरेको र गोबिन्दपादा गुरुसँग दीक्षा लिएको पाइन्छ ।