सीता जयन्ती व्रत
वैशाख शुक्ल नवमी एउटा पावन नवमी हो । जसमा रामायणकी मुख्य पात्र अनि हिन्दु आस्थाकी केन्द्रबिन्दु स्वरूप नै मानिने सीता जयन्ती मनाइने गरिन्छ ।
राम सीताको विवाह
सीता माताको विवाह रामसँग त्रेता युगमा भएको हो । मिथिला, जानकी, रामनन्दकी लगायत सीताका अन्य धेरै नामहरू छन् ।नेपाली भू–भागमा पर्ने जनकपुरमा राजा जनकको छोरीका रूपमा सीतालाई मानिन्छ तथापि सीताका जन्मका विषयमा भने विभिन्न अन्य कथन अनि किंवदन्तीहरू पाइन्छ ।
सीतालाई राजा जनकले खेत जोत्दा भेटेका र धर्तीकी छोरी मानिन्छ । सीता पुनः अग्निपरीक्षापछि धर्तीमै समाहित भएको कथाहरू अझै पनि घर–घरमा सुनिन्छ । रावण अपहरणमा परेसँगै सीताको सतीत्व र पवित्रमाथि प्रश्न उठेपछि सतीत्व प्रमाणित गर्न सीता अग्निपरीक्षामा उत्रिएको किंवदन्ती घर–घरमा सुन्न पाइन्छ ।
सीताको जन्म अर्थात् त्रेता युगअघि नै लेखिएको रिग्वेदमा सीतालाई धर्तीकी देवी माता भनेर चित्रण गरिएको छ । धर्तीबाटै प्रकट भएकाले रिग्वेदमा उल्लेखित देवीको नामबाट सीताको नाम राखिएको हुनपर्छ ।
रामको जन्म सीताको जन्मको ठ्याक्कै १ महिना पूर्व चैत्र महिनाको नवमीमा भएको हो । तसर्थ, राम नवमीको ठ्याक्कै एक महिनामा सीता नवमी पर्छ ।
सीताको जन्म नक्षत्र र विवाह प्रसङ्ग
पुष्य नक्षत्रमा जन्मिएकी सीता सनातन दर्शनको एउटा महान् नारी दृष्टान्त हुन् जसको नाम सदासर्वदा लिइन्छ । राम नामी च्यादरदेखि मन्दिरसम्म, भजनका संवाददेखि चलचित्रसम्म अझै पनि सीता रानीका त्याग, बलिदान अनि महानतालाई चित्रण गरिन्छ । अयोध्याका राजकुमार रामसँगको विवाह प्रसङ्ग बडो रोचक छ, सीताको । सँगै जोडिन्छ धनुष–बाणको गाथा पनि । सुख–सयलमा हुर्केकी सीता पतिसँग वनवास अनि कठोर बसाई हुँदै लङ्कामा रावणको अपहरणमा परी अधीन बस्न बाध्य भएकी थिइन् । सीताको जीवनमा एउटा उदाहरणीय उतार–चढाव पाइन्छ । उनका हरेक कुरा अनि निर्णयले मानव–जातिलाई ज्ञान अनि सहनशीलता सिकाएको छ ।
लैङ्गिक भेदभावको उदाहरणका रूपमा सीताको चित्रण गर्ने एउटा भेदी जमात पक्कै नदेखिएका हैनन् । तथापि सीताको चित्रणमा कान्ति अनि सशक्तता दुवै पाइन्छ । स्वामी विकेकानन्दले त प्रष्टसँग भनेका छन् कि भविष्यमा या भूतकालमा धेरै रामहरू भएका या हुन सक्ने सम्भावना होला, तर सीता केवल एक मात्र छिन् र हुने छिन् ।
सीतालाई रामभन्दा पहिले नाम लिइन्छ । तसर्थ, राम–सीता भन्दा पनि हामी सीतारामको नाम सुन्दछौँ । पहिले सीता अनि राम । सनातन दर्शनमा लैङ्गिक समानताका प्रशस्तै कडीहरू पाइन्छन् । सीता तिनैमध्ये एक कडी हुन् । नेपालको जनकपुरमा जानकी मन्दिर सुशोभित छ, झलल बलेको यस मन्दिरमा रामायणका झल्कोहरू प्रत्यक्ष देख्न पाइन्छ ।
अविचलित सीता अनि मर्यादा पुरुषोत्तम रामका कहानीहरू घर–घरमा अझै सुनिन्छन् । सुनाइन्छन् । सीता एउटा भक्ति हो । शक्ति हो अनि एउटा उदाहरण हो । नारीहरूको असीमित धैर्यता, सहनशीलता र उदारताको । रामभित्र पनि सीता छिन् अनि रामायणमा सीता हरेक कण–कणमा छिन् । रामभित्र स्वयं राम भन्दा सीताको अंश धेरै छ । धर्म र साधनाकी देवी सीताको ममता–सयलमा विश्व सदैव रङिइरहनेछ ।
बाबा गोरख र गोरखकाली को नेपाली इतिहास
बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा
गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।
गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो । बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
गोरखकाली पूजाको असीम स्नेह ।