राप्ती । राप्ती नगरपालिका वडा नं ९ पानीसराढापमा निर्माण गरिएको पिपुल्स पार्कमा शनिबार एकसिंगै गैंडाको प्रतिमा अनावरण गरिएको छ ।
अमृतधारा पानी सामुदायिक वनमा रहेको पार्कमा स्थानीय सतिमाया पुनले व्यक्तिगत लगानीमा गैंडाको प्रतिमा निर्माण गरेकी थिइन् । राप्ती नगरपालिकाका मेयर शमशेर लामाले एक औपचारिक कार्यक्रमका बीच गैंडाको प्रतिमा अनाबरण गरेका छन् । पर्यापर्यटनको विकास गर्ने उद्देश्यले प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय समुदाय, सामुदायिक वनको सयुक्त लगानीमा पार्क निर्माण गरिएको हो ।
सो अबसरमा मेयर लामाले पार्क परिसरमा बाँकी रहेका पूर्वाधार निर्माणको लागि आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्ने बताए । पिपुल्स पार्क राप्ती नगरकै गहना रहेको भन्दै यसलाई नमुना पार्कको रुपमा विकास गरी पर्यटक भित्र्याउने उनको भनाई छ । समुदायले अपनोत्व लिएर निर्माण गरिएको पार्कले स्थानीय समुदायको आयआर्जनमा समेत टेवा पुग्ने भन्दै उनले यसको प्रचारप्रसार र सेवा सुविधा थपमा ध्यान केन्द्रीत हुनुपर्ने बताए । वडा नं ९ का वडाध्यक्ष खड्गबहादुर तामाङले पार्कमा बाँकी रहेका पूर्वाधारहरु एक बर्ष भित्र पुरा गरी पूर्णरुपमा सञ्चालन गरिने बताए ।
पार्क निर्माण समितिका पूर्व सचिव कुलप्रसाद देवकोटाले पार्क सम्म आउन सडकको असुविधा रहेको भन्दै सडक निर्माण गरिदिने मेयर लामालाई आग्रह गरे । पार्क जति सुन्दर भएपनि सडकको असुविधा भए त्यसको अर्थ नहुने भन्दै उनले यस तर्फ स्थानीय सरकारको ध्यान जानुपर्ने बताए । कार्यक्रममा पार्कमा पूर्वाधार निर्माण गर्ने स्थानीयलाई सम्मान गरिएको छ । ३ लाख ८६ हजार खर्चर गैंडाको प्रतिमा निर्माण गर्ने सतिमाया पुन, मायाको प्रतिक निर्माण गर्ने लाकमान पुन, घाँस काट्ने मेसिन सहयोग गर्ने मदनमान पुन र सरसफाई सामग्री र बेन्च निर्माण गर्ने पानीसराढाप आमा समुहलाई सम्मान गरिएको सामुदायिक वनका कार्यालय सचिव लेखप्रसाद खरेलले जानकारी दिए ।
पार्क निर्माण तथा संरक्षण समितिका अध्यक्ष दीपकबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी वडा नं ९ का वडाध्यक्ष बन्धुराम महतो, राप्ती वडा नं ८ का कार्यबहाक वडाध्यक्ष दीपक अधिकारी लगायतले मन्तव्य राखेका थिए । स्थानीय प्रसाद पुन, भीम बहादुर पुन, भक्तबहादुर पुनले ११ लाखको लगानीमा पार्कको मुल गेट निर्माण गरेका छन् । २०६१ सालबाट निर्माण सुरु भएको सो पार्कमा २ करोड ५० लाख बढी लगानी भइसकेको छ ।