चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले दुईवटा बस बगाउँदा धेरै यात्रु बेपत्ता भएका छन् । दुवै बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमतालमा पहिरोमा बगेर त्रिशुली नदीमा खसेका हुन् । चितवन प्रशासनले दुवै बसमा चालकसहित ६५ जना रहेका बताएको छ । यद्यपि दुई वटा बसमा ३९ जनाको हाराहारीमा यात्रु रहेको पाइएको छ । शुक्रबार बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर आइरहेको गणपति डिलक्स र वीरगंजबाट काठमाडौँ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एञ्जल बस पहिरोले बगाएर त्रिशुलीमा खसेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पुष्टि गरेका छन् ।
गौर आइरहेको बसमा ४१ जना र काठमाडौँ गइरहेको बसमा २४ यात्रु रहेको प्रारम्भिक सूचना थियो । तर गौर आइरहेको बसमा २४ जना रहेको र तीमध्ये ३ जनाले हाम्फालेर ज्यान जोगाएको पाइएको छ । यस्तै, अर्को बसमा १५ जना यात्रु रहेको बताइएको छ । घटनास्थलमै रहेका चितवनका सिडिओ यादवका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । उनले बसमा रहेका रहेका यात्रुको यकिन विवरण नआइसकेको बताएका छन् ।
बस खोज्न जिल्ला प्रहरी कार्यालय चितवनले ७५ जनाको टोली खटाएको छ र त्रिशूलीमा बस खोज्न गोताखोर पनि झिकाइएको छ ।
यस्तै, अविरल बर्षाका कारण चितवनकै सत्रकिलोमा माथिबाट खसेको ढुङगा लागेर अर्को यात्रुबाहक बसका चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौँ जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक मेघनाथ विक ढुंगा लागेर गम्भीर घाइते भएका उपचारक्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा बेपत्ता भएका यात्रुसँगै देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बेपत्ता यात्रुको खोजी एवम् प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई निर्देशन दिएका छन् ।