मकवानपुर — वाग्मती प्रदेशमा पहिलो पटक नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भएको छ । देशमा संघीयता लागू भएसँगै वाग्मतीमा चार जना मुख्यमन्त्री बने पनि कांग्रेसको नेतृत्वमा पहिलो पटक सरकार गठन हुन लागेको हो ।
वाग्मतीमा पहिलो पटक सत्ताको नेतृत्व गर्दै कांग्रेस
कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा वाग्मतीमा एमालेसहितको सरकार गठन हुने भएको हो । लामा २०७९ मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा नुवाकोट २ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
संघमा कांग्रेस–एमालेको गठबन्धनसँगै वाग्मती प्रदेश सरकारको नेतृत्व गर्ने अवसर कांग्रेसले पाएको हो । अधिकांश समयमा प्रमुख प्रतिपक्षी बेन्चमा बिताएको कांग्रेस सदनको पहिलो ठूलो दल हो ।
अल्पमतमा परेका वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो । उनले विश्वासको मत लिने उद्देश्यले प्रदेशसभाको बैठक डाके पनि दलको निर्णय अनुसार सदनमा सम्बोधन गरी नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेका छन् ।
प्रदेश प्रमुख यादव शर्माले उनको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार आह्वानका लागि आग्रहसमेत गरिसकेका छन् । शर्माले नयाँ सरकार गठन गर्न संविधानको धारा १६८ को उपधारा २ बमोजिम साउन ८ साँझ ५ बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका हुन् ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ । अर्को सरकार गठन नहुन्जेलसम्म कामचलाउ मुख्यमन्त्रीको जिम्मेवारी जम्कट्टेललाई दिएका छन् ।
नयाँ सरकार गठन गर्न कांग्रेस–एमालले दाबी गर्ने तयारी गरेका छन् । दुवै दलले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिसकेका छन् । उनीहरूले सम्भवतः सोमबार दाबी पेस गर्नेछन् । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार निर्माण गर्न ५६ मत आवश्यक पर्छ । कांग्रेस र एमाले मिल्दा सहजै बहुमत पुग्नेछ ।
प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा (एस)का ७ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।