रविसप्तमी व्रत
हप्ताका हरेक बारहरूले सौर्य मण्डलका कुनै न कुनै ग्रहको प्रतिनिधित्व गर्छन् । आइतबार अर्थात् सूर्यको बार, सूर्यलाई रवि पनि भनिन्छ । यसर्थमा रवि बार परेको सप्तमीलाई रवि सप्तमी भनिन्छ । यो दिन व्रत बस्ने र उपासना गर्ने चलन हुन्छ । रवि बारको सप्तमीलाई दुर्लभ मानिन्छ ।
यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवताहरूका पनि बन्दनीय सूर्य भगवान् सम्पूर्ण जगतलाई आफ्नो स्वभावको तेजले प्रकाशमय बनाउने र प्रेरणा प्रदायक सूर्य भगवानको यो दिन उपासना गर्नाले पद, प्रतिष्ठा, ऐश्वर्य, सन्तान सुख तथा मानो वाञ्छित फल मिल्ने शास्त्रोक्त कथन छ ।
समाज सन्तुलनमा अत्यन्त प्रभावकारी विचारका साधक र वैदिक सनातन हिन्दु दर्शनका पूर्नब्याख्याकार, धार्मिक आख्यानकार र कवि का रुपमा प्रसिद्ध तुलसीदास प्रभु (सन् १५३२ देखि १६२३) को आज जन्मजयन्ति, उनी गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छन् । तुलसीदास प्रभु विशेषतः भगवान् श्री राम प्रतिको समर्पण अनि उनका खण्डकाव्य रामचरित्रमानस र संस्कृत रामायणको नयाँ अध्याय (तुलसीदासकृत रामायण) का लागी यस पृथ्वीमा प्रसिद्ध छन् । छन्दगत अभिब्यक्तिका लागि उत्कृष्ट तुलसीदास प्रभुले यो जगत् छाडेर गएको थुप्रो समय भइसके पनि विभिन्न पूजा कोठा, मठ मन्दिर, देवल, पुस्तकालय अनि विद्यापीठहरूमा तुलसीदास प्रभुको अवधि भाषाको रामायण अझै पनि देख्न सकिन्छ ।
कवि तुलसीदासलाई वाल्मीकिको पूर्नजन्मका रूपमा समेत लिइन्छ र अझै पनि उनले लेखेका हनुमान चालिसाका श्लोकहरू नेपाल, भारत लगायत विश्वभरका वैदिक सनातन हिन्दु अनुयायीहरूले अर्चना गरिने, गाइने अनि जप्ने गर्दछन्।आफ्नो जीवनको अधिकांश काल तुलसीदासले बनारसको वाराणसीमा बिताएका हुन् । बनारसमा अहिले पनि तुलसीदासको नाममा एउटा घाटको नामकरण गरिएको छ । तुलसीदास पुरापुरी १२ महिना आमाको गर्भमा रहेका र जन्मिदा नै १२ वटा दाँत सहित जन्मिएका थिए भन्ने कुरा समाजमा रहेको छ ।
जन्मनासाथ अरू बच्चाहरू झैँ नरोई कन तुलसीदासले राम नामको उच्चारण गरेका थिए । त्यसै कारणले उनको नाम “रम्बोला” रहन गएको भनी तुलसीदास प्रभु आफैले बिनायपत्रिकामा लेखेका छन् । तुलसीदासको जन्मपश्चात् केही दिनमा बुवाको मृत्यूभएको र परिवारमा बढ्दो सङ्कटका कारणले घरमा काम गर्ने कामदार चुनियाले उनलाई हुर्काएको तुलसीदासले लेखेका छन् । पछि चुनियाको पनि मृत्यु भएपछि रम्बोला अर्थात् तुलसीदासले दैलो दैलो गएर भिक्षा मागी जीवनयापन गरेका थिए ।
यस क्रममा रामायणका घटनाक्रम, पात्रहरू, छन्द, ज्ञान अनि परिवेशहरुसंग तुलसीदास प्रभुको जीवनले जम्काभेट पाएको देखिन्छ । यो एउटा व्यवहारिक अध्ययन र सर्वेक्षण जस्तै भएको हुनपर्दछ । घरघरमा रामायणको गीत अनि श्लोकहरूसँग बालक रम्बोलाले अभ्यास गर्दे गए अनि भिक्षुकका रूपमा जीवन निर्वाह गर्दै गए ।