अन्तर्राष्ट्रिय युवा दिवस
अन्य वर्षहरू झैँ यस वर्ष पनि अगस्त १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।
सन् २०२४ को युवा दिवसको नारा भने यसप्रकार छ । ‘From Clicks to Progress; Youth Digital Pathways For Sustainable Development’.क्लीकअर्थात् प्रविधीको प्रयोगलाई दिर्घकालिन बिकाससंग जोड्दै यो वर्षको नारा तयार गरिएको छ ।
युवा जनसंख्यालाई संसारका कुनै पनि देशले आ–आफ्नै उमेरको परिधिमा राखेको छ, तथापि युवा भनेको मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर–समूह पनि हो । नेतृत्व गर्न मन लाग्ने, जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेगसहितको युवा अवस्था शक्ति र सामथ्र्यले भरिपूर्ण अवस्था हो ।
त्यसैले पनि होला, युवाहरूलाई परिवर्तनका संवाहक मानिएको किनभने परिवर्तनका लागि नयाँ सोंच, उर्जा, चेतना, मौलिकता अनि हक्की स्वभाव जस्ता अनेक तत्वहरूका समिश्रण चाहिन्छ र यसका लागि युवा अपरिहार्य छ । युवा अवस्थामा मान्छे पुराना भन्दा नयाँ, परिवर्तनकारी र आन्दोलनात्मक तरिका र कुनै पनि मुद्दाको अन्तिम नतिजा निकाल्ने कुरामा विश्वास राख्छन् । इतिहास साक्षी छ, युवाहरूको सहभागिताविना कुनै पनि आन्दोलन, परिवर्तन, युद्ध अनि विकास भएका छैनन् यसअर्थमा युवाशक्ति भनेको अवसर र सही अर्थमा परिचालन गर्न नसकिएमा चुनौति दुवै हुन् ।
नेपाली गाउँहरूमा आजभोलि पहिलेजस्तो युवाहरूको संख्या बाक्लो देख्न कहाँ पाइन्छ र ! हाम्रा देशका युवाहरू गएका दशकदेखि रोजगारी, अध्ययन तथा सम्भावना खोजीको सिलसिलामा विदेश जाने क्रम झन्–झन् बढेको छ । संसारले युवाको महत्व बुझेर ठूल्ठूला कार्यहरू, विकासका लहरहरू र उर्जायुक्त दिवसहरू आँट्दासम्म पनि नेपालले आफ्ना युवाशक्तिलाई देशभित्रैका विभिन्न सम्भावनायुक्त क्षेत्रहरूमा अझै अटाउन सकेको छैन । हाम्रा युवाहरू मुख्यतः खाडी, कोरिया, जापानका देशमा पसिना बगाइरहँदा यता गाउँमा मलामीसम्मको जनशक्ति हम्मे–हम्मे परेको समाचार विभिन्न सञ्चार माध्यमबाट आएकै हुन् ।
वैदेशिक रोजगारबाट आएका विप्रेषण ‘रेमिट्यान्स’को पैसाले सिमेन्टका सग्ला घर, राम्रा लूगाफाटा, मीठा खाना अनि महँगा टिभी, मोबाइलहरू हात–हातमा देखिए तापनि यसरी सधैं लाहुरे नियतिले जीवन चल्छ त ? देश विकास हुन्छ र ? सोच्नुपर्ने समय आएको छ ।
दिनहुँजसो बाकसमा बन्द भएर आउने नेपाली युवाका शवहरू अनि तिनमा आश्रित परिवारका आँसुको हिसाब–किताब आजको दिनमा सरकार र सरोकारवाला संयन्त्रसँग माग्ने बेला आएको छ । युवाहरू गहना हुन भने देशको सम्पत्तिलाई विदेशिनु नै नपर्ने वातावरण सृजना होस् । देशमा बढ्दो राजनीतिक सङ्कट, समाजका हरेक अन्तर्वस्तुमा हाबी भइरहने पारम्परिक चिन्तनलाई चिर्न भएपनि हाम्रो देशमा युवाशक्तिको सबैभन्दा बढी आवश्यक छ । पुल–पुलेसा, बाटो–घाटो अनि विभिन्न पुनर्निर्माण तथा विकासका अग्रगामी सोच र त्यो सोचमा भरपर्दो ताकत भरेर देशलाई समृद्ध बनाउन युवाहरूको भुमिका अपरिहार्य छ, ‘हे युवा जय युवा ।’
मानवता जताततै युवाहरूको असीम ऊर्जा, विचार र योगदानमा निर्भर छ। आज र हरेक दिन, मानिसहरू र ग्रहको लागि, एक न्यायपूर्ण र दिगो संसारको आकार दिन युवा मानिसहरूको साथ र समर्थन गरौं।
एन्टेनो गुटेरस
संयुक्त राष्ट्र संघ महासचिव
यसअर्थमा नेपालमा पनि कार्यक्रमहरू गरिँदै अनि ज्ञापनपत्र र घोषणापत्रहरू मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा बुझाउने चलन छ । युवाहरूले आफ्ना माग र आवश्यक्तालाई सरकार र सरोकारवालाहरूसमक्ष लैजान जागरुक र तदारुकता हुन जरुरी छ । स्वरोजगार ऋण र सीपमूलक शिक्षा प्रणालीजस्ता अवधारणा साकार पार्न नेपाली युवाहरूको जोडदार आवाज उठ्न जरुरी छ । जहाँ आवाज कमजोर भयो बुझे हुन्छ विकास ठप्प भयो । परिवर्तन ठप्प भयो ।
यसकारण पनि परिवर्तनका संवाहक युवाहरूको भूमिका अनन्त छ । युगान्तकारी परिवर्तन र विकासको अभिभारा नेपाली युवाहरूको कुशल काँधमा छ ।
बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।
गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन्
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।