राप्ती नगरपालिकाको १४ औं नगर सभा आइतबार सम्पन्न भएको छ । असार १० गते हुनुपर्ने सभा जनप्रतिनिधि बिचको विवादका कारण दुई महिना ढिलो गरि आइतबार भएको हो । नगर सभाले चालु आर्थिक बर्ष २०८१।०८२ का लागि एक अर्ब १५ करोड १३ लाख १० हजार बराबरको बजेट ल्याएको छ । सभामा नगर उपप्रमुख देवेन्द्र लामाले चालु आर्थिक बर्षका लागी अनुमानित कुल आयब्यय प्रस्तुत गरेका थिए । उपप्रमुख लामाले पेश गरेको बजेट अनुसार संघीय समानिकरणमा १६ करोड २५ लाख,संघीय राजश्व बाँडफाटमा १४ करोड ७२ लाख, प्रदेश समानीकरणमा १ करोड ७० लाख २४हजार, प्रदेश राजष्ठ बाँडफाटमा ५करोड ८५ लाख ८४ हजार ८ सय, आन्तरिक आयमा २४ करोड २८ लाख ५८ हजार ७ सय ५४,संघीय शशर्त अनुदानमा ३५ करोड २१ लाख ३हजार आम्दानी हुने अनुमान छ । त्यस्तै प्रदेश शशर्त अनुदानमा ६ करोड ३१ लाख ७ हजार, संघीय समपुरक अनुदानमा १ करोड ४० लाख,संघीय विशेष अनुदानमा ६ करोड ७५ रुपैयाँ र मौज्दात २ करोड ७३ लाख ३२ हजार गरि १ अर्ब १५ करोड १३ लाख बजेट अनुमान गरिएको उपप्रमुख लामाले बताए । प्रस्तुत बजेट अनुसार आर्थिक बिकास तर्फ १० करोड ३७ लाख,सामाजिक बिकासमा ४१ करोड ४५ लाख,पुर्वाधार बिकासमा ३४ करोड ९१ लाख,ब्यबस्थापन र सुशासनमा ३ करोड २१ लाख र कार्यालय संचालन तथा प्रशासन तर्फ २४ करोड २५ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
नगर सभामा नगर प्रमुख शमशेर लामाले चालू आर्थिक बर्षका लाई निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रमुख लामाले प्रस्तुत गरेको निति कार्यक्रममा विपन्न परिवारलाई स्वास्थ्य बिमा कार्यक्रम ,जनता केयर कार्यक्रम ,कक्षा १२ सम्म निशुल्क शिक्षा ,जनआदर्श बहुमुखी क्याम्पसको स्वामित्व ग्रहण गर्ने जस्ता कार्यक्रम समबेश छ । राप्तिले कृषिलाई यो बर्ष विशेष कार्यक्रम समबेश गरेको छ । प्रमुख लामाले नगरको पहाडी वडालाई कफि जोन बनाउने योजना रहेको बताए । त्यस ठाउँको स्थानीयको दिगो आम्दानीका लागि कफी जोन घोषणा गरिनेछ, प्रमुख लामाले भने ( किसानलाई कफिको बेर्नासहित आवश्यक प्राबिधिक सहयोग गरिनेछ । त्यस्तै कुटो कोदालो कार्यक्रम ,वडामै गोवर परिक्षण ,कृषि एम्बुलेन्स संचालन गरिने नगरको योजना छ । यस बर्ष पनि एक सय घर निर्माण गरि हस्तान्तरण गर्ने लक्ष्य लिएको भन्दै प्रमुख लामाले पुरानो राजमार्गमा बसोबास गर्ने सुकुम्बासीलाई एकीकृत बस्तिको बिकास गरि स्थानान्तरण गरिने,नहर बिभागको जग्गामा बसेकाहरुलाई छलफल गरि ब्यबस्थापन गरिने बताए । नगरपालिकाले घरेलु रक्सी उत्पादनलाई ब्राण्डिङ गर्न अध्ययन अनुसन्धान गर्ने जनाएको छ ।
पर्यटन बिकासका लागि नगर भित्रका गढिहरुको अध्ययन गरि पुनर्निर्माण गरिने,गैडेभास्माणी तालको बिस्तार गरिने,पानीसराढाप बाट समिटार किरनटार ठकुरी भङज्याङ,कुइभिर,कान्दा,कमिनचुली,स्यामाङ ,कान्द्राङगढी,पर्खाल,चात्राङ,कुचुर,परेवाकोव्ट हुँदै लोथर सम्म ट्रेकिङ ट्र्याक खोलिने र पर्यटन ब्यवसायिलाई आकर्षित गर्ने गरि पुर्वाधार तयार गरिने प्रमुख लामाले बताए । उज्यालो राप्ती अन्तर्गत पहाडी वडा तथा बिजुली नपुगेका क्षेत्रमा बिजुली पुर्याउन पहल गर्ने,बिजुली पुगेका तर आर्थिक अभावको कारण बिजुली जोड्न नसकेका विपन्न परिवारलाई निशुल्क मिटरबक्स जडान गरिने जनाईएको छ । १४ औं नगर सभाले आर्थिक ऎन २०८१ र बिनियोजन ऎन २०८१ सर्वसम्मत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण शाहले जानकारी दिए । सभामा लेखा समिति संयोजक दिपक अधिकारले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए । सो प्रतिबेदन पनि सर्वसम्मत पारित भएको छ । सभामा सर्वाधिक राजस्व संकलन गर्ने वडा नम्बर ६,७ र ८ लाई सम्मान गरिएको थियो ।